
जाजरकोट । समाजसेवा र संस्थागत सहयोगमार्फत समुदायको उत्थानमा योगदान दिने उद्देश्यले शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, छेडागाड नगरपालिका–९ जाजरकोटले इलाका प्रहरी कार्यालय, बडाबनलाई सहयोग स्वरुप केही सामग्री हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले प्रहरी नायब निरीक्षक उपेन्द्र शाहीलाई १० वटा कुर्सी, २ वटा बेन्च, र १ वटा टेवल हस्तान्तरण गरेका छन् । कार्यक्रममा अध्यक्ष अधिकारीले प्रहरी प्रशासनलाई सहयोग गर्नु समुदायको दायित्व भएको बताउँदै बताए । उनले भने– ‘सुरक्षा निकायको सशक्तिकरण समाजकै सुरक्षाका लागि महत्त्वपूर्ण छ । प्रहरीलाई आवश्यक पूर्वाधार उपलब्ध गराउनु हाम्रो सामाजिक उत्तरदायित्व हो ।’
प्रतिष्ठानको सहयोगप्रति इलाका प्रहरी कार्यालयले आभार प्रकट गरेको छ । कार्यालयका प्रहरी नायब निरीक्षक उपेन्द्र शाहीले भने– ‘स्थानीय समुदायको साथ र सहयोगले प्रहरीको कार्यसम्पादनमा थप ऊर्जा मिल्छ ।’ उनले प्रहरी र स्थानीयबासीबीचको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, प्रतिष्ठानका पदाधिकारी, प्रहरी प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।