
जनयुद्धको ऐतिहासिक अवसर गुमाउनु पर्दाको पीडा गहिरो छ, तर क्रान्तिका सपनाहरूलाई अझ मजबुत रूपमा अगाडि बढाउने संकल्प झन् बलियो छ। सहिद कमरेड ललित बिकले जनयुद्धको मर्मलाई आत्मसात् गर्दै, २०५३ सालमा अनेरास्ववियु (क्रान्तिकारी) बाट आफ्नो क्रान्तिकारी यात्राको प्रारम्भ गर्नुभयो। सञ्चार प्रमुख हुँदै विभिन्न जिल्लाका इलाका प्रमुखको भूमिका सम्हाल्दै, उहाँले इमानदार र निष्ठावान् नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभयो। सात दलीय सहमतिपछि पनि आफ्नो क्रान्तिकारी विचारधारालाई जीवन्त राख्दै, अन्ततः २०६२ माघ १८ गते पाल्पा तानसेनमा, आफ्नो जीवनलाई देश र जनताको मुक्तिका लागि बलिदान गर्नुभयो।
सहिद दाजुको सपनालाई साकार पार्ने अठोट गर्दै, मैले २०६६ सालदेखि सहिद स्मृति आवासीय विद्यालय, दाङमा अध्ययन गर्ने अवसर पाएँ। त्यहाँबाट नै माओवादी विचारधाराप्रति अझ गहिरो विश्वास र प्रतिबद्धता पैदा भयो। माओवादी नेतृत्वलाई आफ्नो अभिभावकझैं सम्मान गर्ने क्रममै, २०६९ सालदेखि पार्टी फुटको चोट झेल्नुपर्यो। तर म सधैं क्रान्तिकारी धारमा दृढ रहँदै आएँ। पछिल्लो चरणमा, जनयुद्धका कुशल नेताहरूको अगुवाइमा गठित नेपाल कम्युनिस्ट पार्टीप्रति पूर्ण आस्था राख्दै, सहिद दाजुको सपनालाई आफ्नै जीवनमार्फत पूर्णता दिने अठोट गरें।
२०७४ सालदेखि आधिकारिक रूपमा अनेरास्ववियु (क्रान्तिकारी) ललितपुर जिल्ला समितिमा रहँदै, संघर्षको बाटो समातें। २०७५ फाल्गुण १० गते, एनसेलको मुख्य कार्यालय, नक्खिपोटमा भएको पार्टी कार्यवाहीमा संलग्न भएको आरोपमा गिरफ्तार गरिएँ। चार दिन हिरासतमा रहेँ, जहाँ विभिन्न यातनाहरूको सामना गर्नुपर्यो। त्यसपछि, राज्यले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगायो, र हामी भूमिगत संघर्षको नयाँ चरणमा प्रवेश गर्यौँ। जेल, हिरासत, र यातनाको अनुभव गर्दै, माओवादी जनयुद्धको वास्तविकता झन् गहिरोसँग महसुस गर्न पाएँ।
तर समयक्रममा, पार्टीले तीन बुँदे सहमति गर्दै स्थानीय निर्वाचनको उपयोग गर्ने नीति लियो। यसले मेरो मनमा गम्भीर प्रश्न उठायो—के साँच्चै क्रान्ति अघि बढ्दै छ? म माओवादी आन्दोलनलाई टुक्रा-टुक्रा होइन, एकताबद्ध बनाएर क्रान्तिलाई निरन्तरता दिनुपर्ने पक्षमा थिएँ। यही सोचका साथ, म नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठनमा आबद्ध भएँ। संगठनभित्रका उतारचढावका बाबजुद, म निरन्तर क्रान्तिकारी सिद्धान्तमा अडिग रहेँ।
२३औं राष्ट्रिय सम्मेलनमा नेतृत्वसँग छलफल गरियो, निवेदन पेश गरियो, तर हामीलाई बेवास्ता गरियो। अन्ततः, अस्वच्छ निर्वाचन प्रक्रियामा भाग लिन बाध्य पारियो। म समावेशी सचिव पदको उम्मेदवार बन्न बाध्य भएँ, तर हाम्रो विरुद्ध हुकुमी निर्णयहरू जारी गरियो, क्रान्तिकारी शक्तिहरूलाई दबाउन षड्यन्त्रहरू गरिए। यद्यपि, प्रिय क्रान्तिकारी प्रतिनिधि कमरेडहरूले मेरो संघर्षलाई बुझ्दै समर्थन जनाउनुभयो। त्यसका लागि म उहाँहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु।
यहीबीच, मेरो संघर्षलाई बदनाम गर्ने र षड्यन्त्रपूर्वक मलाई कमजोर बनाउने प्रयास गरियो। तर म प्रष्ट छु—क्रान्तिकारी संघर्षमा यस्ता प्रहारहरू नौला होइनन्। जबसम्म म जनताको पक्षमा, क्रान्तिको पक्षमा उभिन्छु, तबसम्म यस्ता आक्रमणहरू सामना गर्न तयार छु। इतिहासले देखाएको छ, प्रतिक्रियावादीहरू सधैं क्रान्तिकारीहरूको विरुद्ध षड्यन्त्र रच्न तम्सिन्छन्, तर सत्य, निष्ठा, र बलिदानको बाटो कहिल्यै पराजित हुँदैन।
यद्यपि, म अस्वच्छ निर्वाचनमा पराजित भएँ, तर क्रान्तिकारी आदर्शहरूमा म विजयी छु। तपाईंहरूको विश्वास कहिल्यै मर्न दिने छैन। म सधैं माओवादी आन्दोलन, जनयुद्धका आदर्शहरू, र क्रान्तिको निरन्तर यात्रामा समर्पित रहनेछु।