
नेकपा एकीकृत समाजवादी पार्टीभित्र विद्रोहको आवाज उठाउने कोही छ भने ति हुन् रामकुमारी झाँक्री । झाँक्रीले पार्टी नेतृत्व र उसका गतिविधिविरुद्ध खुलेरै आवाज उठाउँदै आइरहेकी छन् । पार्टीभित्र उनको आवाज दबाउन खोज्नेहरु धेरै छन् । तर, उनले आफ्नो आवाज उठाउन छाडेकी छैनन् । भलै उनको आवाजले परिणाम दिएको छैन । गलत गतिविधि र गलत कुराको कुनैपनि हालतमा वकालत गर्न नसक्ने रामकुमारीको यो हठले अहिले उनीमाथि नै संकटको अवस्था आइलागेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल यतिबेला पतञ्जली जग्गा प्रकरणमा मुछिएका छन् । यस्तो अवस्थामा पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने झाँक्रीको माग थियो । कतिसम्म भने उनले सार्वजनिक कार्यक्रममा नै पार्टी अध्यक्षविरुद्ध सार्वजनिक अभिव्यक्ति नै दिइन । गत शनिबार उनले नेतृत्व पुनर्गठनको माग राख्दै पार्टी अध्यक्षलाई कडा शब्दमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन ।
पार्टीका अन्य नेताहरुले अध्यक्षमा माधव नेपालबाहेक अरु कोही देखेका छैनन् । जबकि उनको सांसद पदसमेत निलम्बनमा परिसकेको छ । अर्कोतर्फ विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा उनलाई ३५ लाख धरौटी लिएर छाडेको छ । विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गरेको छ ।
यस्तो अवस्थामा पार्टीलाई विधि र पद्दतिअनुसार अघि बढाउने हो भने नेतृत्वको विकल्प खोज्नुपर्ने थियो । तर, माधव नेपाललाई नै निर्विकल्प देख्नेहरुले यस विषयमा कुनै बहस नै अघि बढाएनन् । त्यसैले अहिले नेकपा एकीकृत समाजवादी पार्टीको विषयमा राजनीतिक बजारमा निकै चर्चा चुलिन थालेको छ । यही विषयमा प्रश्न उठाउने नेताहरुलाई छानीछानी कारबाहीको डण्डा बर्साउने गतिविधि हावी हुँदैछ । पार्टी नेतृत्वमाथि प्रश्न उठाउने नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।
नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।
अध्यक्ष नेपालमाथि मुद्दा दायर भएपछि नैतिकताको आधारमा उनले अध्यक्ष पदबाट समेत राजीनामा दिएर उच्च नैतिकता देखाउन सक्नुपर्ने आवाज आवाज बलियो बनेको छ । नेपालको राजनीतिमा पटकपटक उच्चपदस्थ पदमा बहाल हुँदै आएका नेपालले नैतिकता देखाउन सकेनन् ।
बरु आफूविरुद्ध आवाज उठाउनेहरुलाई कारबाहीको दायरामा ल्याउन खोज्ने उनको अनौठो शैली छ । कतिसम्म भने पार्टीले अध्यक्ष माधवकुमार नेपालबारे सार्वजनिक रूपमा नबोल्न पार्टी पंक्तिमा निर्देशनसमेत जारी गरेको अवस्था छ । अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको भन्दै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टीको निर्देशन छ ।
विधि र प्रक्रियाबाट पार्टीलाई अघि बढाउने हो भने गलत गतिविधिको भण्डाफोर गर्नैपर्छ । गलत गतिविधिको संरक्षण गर्ने होइन कि त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको डण्डा चलाउन सक्नुपर्छ । यसो गर्न सकिएन भने यस्ता हर्कतहरुले सीमा पार गर्नेछन् । जहाँसम्म माधव नेपालको कुरा छ, उनीविरुद्ध अदालती प्रक्रिया सुरु भएर सांसद पद निलम्बन भएको हो । पार्टीमा उनले नैतिकता देखाउन नसकेपनि नैतिकता पढाउनेहरु किन मौन छन् ? यसले पक्कैपनि पार्टीको भविष्यमाथि धावा बोलिरहेको छ ।