
राजनीतिक दल नेकपा एमाले पछिल्ला केही वर्षदेखि अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि घुमिरहेको देखिएको छ। पार्टीभित्र ओलीको प्रभाव यति बलियो छ कि उहाँलाई निर्विकल्प नेतृत्वका रूपमा स्थापित गरिएको छ। तर पछिल्ला दिनमा एमालेभित्र नयाँ शक्ति सन्तुलनको संकेत देखिन थालेको छ — त्यो संकेतको केन्द्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन्।
भण्डारीले राष्ट्रपति पदबाट अवकाश लिएपछि पार्टी राजनीतिमा देखाउन थालेको सक्रियताले एमालेभित्र नयाँ बहसको ढोका खोलिदिएको छ। यद्यपि औपचारिक रूपमा उहाँले पार्टी जिम्मेवारी नलिए पनि भण्डारी पक्षधर नेताहरू खुला रूपमा सक्रिय हुन थालेका छन्।
पार्टीको आन्तरिक समीकरणमा भण्डारीको उचाइ बढ्दै जाँदा ओली नेतृत्वप्रति असन्तुष्ट समूहले समेत उहाँलाई ओलीको विकल्पका रूपमा हेर्न थालेका छन्। यसैबीच, एमालेका कतिपय नेताहरूले भण्डारीको भूमिकालाई ुप्राकृतिक संक्रमणु को रूपमा लिन थालेका छन्, जसले आगामी महाधिवेशनमा निर्णायक मोड ल्याउन सक्छ।
ओलीले लगातार पार्टीको नियन्त्रण आफ्नो हातमा राख्न सफल भए पनि हालका दिनमा निर्णय प्रक्रियामा व्यापक परामर्शको अभाव, संगठनभित्र असन्तोषको चुलिँदो स्तर र भण्डारीको बढ्दो प्रभावले पार्टीको एकछत्र नेतृत्वमा चुनौती खडा भएको विश्लेषणहरू हुन थालेका छन्।
एमालेभित्र देखिएको दुई धार — एकातर्फ ओली नेतृत्वको निरन्तरता चाहने पक्ष, अर्कोतर्फ भण्डारी नेतृत्वको सम्भावना खोज्ने समूह — निकट भविष्यमा पार्टीको दिशा र भविष्य निर्धारण गर्ने मुख्य घटक बन्न सक्ने संकेत देखिन थालेको छ।
यद्यपि, ओली र भण्डारी दुवैले सार्वजनिक रूपमा एकअर्काविरुद्ध कुनै धारणा दिएका छैनन्। तर, पार्टीभित्र मौन प्रतिस्पर्धा सुरु भइसकेको छ भन्ने आँकलन तीव्र गतिमा फैलिएको छ। अबको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदैछ — जहाँ एमाले नेतृत्वमा साँच्चै परिवर्तनको लहर आउँछ कि ओलीको वर्चस्व अझ बलियो हुन्छ भन्ने प्रश्नको उत्तर भेटिने छ।