
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिव्यक्ति दिँदा ख्याल गर्न आग्रह गरेका छन् ।
ओलीले भनेका थिए, ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला । १५ गतेका लागि यहाँबाट भोलि उठ्नेबित्तिकै तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । तपाईंहरू जस्तो जे गर्नुपर्छ, तयारी अवस्थामा बस्नुहोला ।’ प्रधानमन्त्रीको यस अभिव्यक्तिप्रति कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । त्यसबारे महामन्त्री थापाले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस् ।’
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हिजो पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।