
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति मूठभेड निम्तिन सक्ने चिन्ताजनक र उत्तेजनापूर्ण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले राजावादी संयुक्त जनआन्दालेन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनका विषयमा आइतबार प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति विधिको शासन विपरीत भएको उल्लेख गरेको छ ।
अभिव्यक्तिको चौतर्फी आलोचना हुँदा आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेल हस्ताक्षरित विज्ञप्तिमा ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई छ’, भनिएको छ ।