
काठमाडौं । दलालहरुले नेपाली युवाहरुको भविष्य कसरी छिनमै चकनाचुर बनाउँछन् भन्ने हामी सबैलाई थाहा नै छ। सोझासिधा नेपालीहरुलाई फकाएर उनीहरुबाट लाखौं पैसा असुलेपछि फरार हुने दलालहरुको चरित्रवान गुण नै बनेको छ।
यस्ता नामुद दलालहरुले नेपाली युवाहरुको लाखौं रुपैयाँ असुलेर भाग्ने धन्दा नै चलाएका छन् । जसले युवाहरुलाई मानसिक रोगको शिकार बनाएको छ।
यस्ता दलालहरु सोझासिधा नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका नाममा ठग्नकै लागि चोकचोकमा भेटिने गरेका छन्। साहुको ऋणले थिलथिलो बनाएपनि वैदेशिक रोजगारीको आशा देखाउने दलालहरुले लाखौं नेपाली युवाहरुको भविष्य नै बर्बाद बनाउँदै आएका छन्।
राम्रो काम र आकर्षक तलबको ललिपप देखाउँदै युवाहरुलाई फसाउने र उनीहरुबाट काम नगरेरै लाखौं असुल्ने दलालहरुको ठगीधन्दा कहालीलाग्दो छ।
यस्ता दलालहरुलाई राज्यले नै गैरकानुनी मानेको अवस्थामा तिनै दलालहरु नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन ठगीधन्दा चलाइरहेका छन्।
यस्तैमध्येका एक दलाल हुन् दाङका चित्रबहादुर भण्डारी। उनले केही युवाहरुलाई रोमनिया पठाइदिने भन्दै लाखौं रुपैयाँ असुली गरेको तथ्य हामीलाई प्राप्त भएको छ । दाङका गणेश भण्डारी र सागर विश्वकर्मा लगायत धेरै युवाहरुको लाखौं रुपैयाँ हसुरेर उनी बेपत्ता छन्।
पीडित युवाहरुले यसअघि पटकपटक आग्रह गर्दापनि उनले सो रकम फिर्ता गर्न सकेका छैनन् । आफूले दिएको रकम फिर्ता माग्ने युवाहरुलाई दलाल चित्रबहादुर भण्डारीले डर, त्रास र धम्की दिने गरेको खुलेको छ।
कतिसम्म भने नामुद ठग भण्डारीले आफ्नो पावर ठूलै रहेको र कसैले हल्लाउन नसक्ने धाक लगाइरहेका छन्। पीडित युवाहरुलाई दलाल भण्डारीले गुण्डा लगाएर ठेगान लगाउनेसम्म चेतावनी दिइरहेको तथ्य फेला परेको छ।
युवाहरुको पैसा खाएर घर न घाटको बनाउने अनि तिनैलाई धम्की र त्रास देखाउने यस्ता ठगहरुले युवाहरुको भविष्य नै डामाडोल बनाइदिएको छ।
ठग र दलालको पहिचान बनाएका यी भण्डारीले आज, भोलि भन्दै रकम फिर्ता गरिदिने आश्वासन दिन लागेको वर्षौ बितिसकेको छ । तर, यिनले अहिलेसम्म रकम फिर्ता गर्न सकेका छैनन्। यिनको दैनिकी आजभोलिमै बितिरहेको छ। बिनापरिश्रम पाएको पैसा हसुरेर तिर्न सकिरहेका छैनन्।
कतिसम्म भने दलाल भण्डारीले नेपाल प्रहरीलाई नै ठग्दै हिँडिरहेका छन्। रकमका सन्दर्भमा दलाल भण्डारी र पीडित युवाहरुबीच गत पौष १७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा रकम दिने सहमति भएको थियो।
दलाल भण्डारीले पौष २४ गतेभित्र पीडित युवाहरुको सबै रकम फिर्ता गर्ने दाबी गरेका थिए। सो मितिमा रकम फिर्ता नगरे प्रचलित कानुनअनुसार आफ्नो नामको चल अचल जायजेथा श्रीसम्पतिबाट कारबाही गरी सो रकम असुल गरिदिने भन्दै लिखित सहमति पत्रमा उनले सहीछाप गरेका थिए।
तर, अहिले सो लिखित सहमति पत्रमा गरेको सहीछापलाई लत्याउँदै उनी सम्पर्कविहीन भएका छन्। हामीले पनि उनीसँग सम्पर्क गर्ने प्रयास ग¥यौ तर उनी हाम्रो सम्पर्कमा समेत आउन चाहेका छैनन्। हाल उनी सम्पर्कविहीन अवस्थामा छन्।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्नेलाई के हुन्छ कानुनी कारबाही यस्तो छ कानुनी व्यवस्था
वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ मा कसुर र दण्ड सजायसम्बन्धी व्यवस्था गरिएको छ । सो ऐनको दफा ४३ मा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ ।
सोही ऐनको दफा ४४ मा कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ ।
यस्ता दलालहरुलाई यति कानुनी कारबाहीले मात्र पुग्ने जस्तो अवस्था छैन। मुलुकका सयौं युवाहरुको भविष्यमाथि खेलवाड गर्ने यस्ता नामुद ठगहरुलाई राज्यले कानुनी कठघरामा उभ्याएर क्षतिपूर्तिसमेत भराउनुपर्ने हुन्छ। अनेक नाटक मञ्चन गरेर युवाहरुको भविष्य नै बर्बाद बनाउने चित्रबहादुर भण्डारी जस्ता दलालहरु कालकोठरीमा जाकिनैपर्छ।
अनि मात्र युवाहरुले न्यायको अनुभूति गर्नेछन् । पीडित युवाहरुले सबै प्रक्रिया अघि बढाउँदा पनि न्यायको अनुभूति गर्न सकेनन्। अब यो विषय राज्यको कानुनी दायरामा आउनेछ। राज्यले ठग र दलाल चित्रबहादुर भण्डारीको बचाउ नभइ कारबाहीको डण्डा बर्साउनेछ। अनि पीडित युवाहरुलाई क्षतिपूर्तिसहित न्यायको अनुभूति दिलाउनेछ।