
खुमलटार आदर्श समाजले जेठ १ गतेदेखि फोटोग्राफी र भिडियोग्राफीको १५ दिने विशेष तालिम कार्यक्रम सञ्चालन गरेको छ । यो तालिम ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित खुमलटार आदर्श समाजको भवनमा सञ्चालन भइरहेको छ । तालिममा सहभागीहरूलाई पेशागत फोटोग्राफी र भिडियोग्राफीका विविध पक्षहरूबारे प्रशिक्षण दिइरहेको खुमलटार आदर्श समाजले जनाएको छ । तालिममा प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । प्रशिक्षार्थीहरुले फोटोग्राफी र भिडियोग्राफीसँग सम्बन्धित आधुनिक उपकरणहरूको प्रयोग गर्न सिक्ने अवसर पाउँदा आफूहरुलाई खुसी महसुस भएको बताएका छन् ।
सिर्जनशील सेवा प्रा.लि., सिर्जनशील वातावरण संरक्षण केन्द्र र ब्लु रेज ग्राफिक्स एण्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा विशेष छुटमा सो तालिम सञ्चालन भइरहेको छ । तालिम प्रत्येक दिन अपराह्न ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुँदै आइरहेको छ । सहभागीहरूले तालिममा विभिन्न प्रकारका क्यामेरा, ड्रोन, भिडियो क्यामेरा, गो प्रो क्यामेरा, ट्राइपड तथा अन्य आधुनिक फोटोग्राफी र भिडियोग्राफी उपकरणहरूको प्रयोगात्मक अभ्यास गर्न पाउने बताइएको छ ।
यस किसिमको तालिमले खुमलटार क्षेत्रका युवाहरूलाई फोटोग्राफी र भिडियोग्राफीको क्षेत्रमा आवश्यक सीप हासिल गर्न सहयोग पुग्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।