
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको हो । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । यी तीनजनामध्येबाट सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
नव नियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज भइरहेको थियो ।
पौडेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनी पराजित भएका थिए । अहिले उनै पौडेललाई सरकारले राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी सुम्पिएको छ ।