
ललितपुरको खुमलटार आदर्श समाजले सञ्चालन गरेको १५ दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका–१५ खुमलटारमा जेठ १ गतेदेखि सो तालिम सुरु भएको थियो । युवाहरूलाई डिजिटल युगका सीपहरू सिकाउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले स्थानीय समुदायमा व्यापक चासो जगाएको छ ।
तालिममा फोटोग्राफीअन्तर्गत प्रशिक्षार्थीहरुले विभिन्न क्यामेराहरुको प्राविधिक प्रयोग, फोटो खिच्ने कलाकारिता, प्रकाश र छायाको उपयोग, विभिन्न विधाका फोटोग्राफी सम्बन्धी तालिम सिकेका छन् । प्रशिक्षार्थीहरुले भिडियोग्राफीसम्बन्धी भिडियो छायाँकनको शैली, भिडियो सम्पादनका आधारभूत कुराहरू, कथानक निर्माण र फिल्मिङ, आधुनिक उपकरणहरूको प्रयोग लगायतका कुरा सिकेका छन् ।
यस तालिमको मुख्य उद्देश्य युवाहरूलाई आत्मनिर्भर बनाउनु रहेको छ । डिजिटल मिडियाको बढ्दो माग र फोटोग्राफी तथा भिडियोग्राफीको क्षेत्रमा रहेका अवसरहरूलाई मध्यनजर गर्दै यो कार्यक्रम डिजाइन गरिएको हो । तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले यसलाई अत्यन्त उपयोगी भएको बताएका छन् ।
खुमलटार आदर्श समाजले आगामी दिनहरूमा अन्य प्राविधिक सीपहरूमा पनि तालिम सञ्चालन गर्ने योजना बनाएको छ । विशेषगरी डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन र सामाजिक सञ्जाल व्यवस्थापनमा तालिम दिने तयारी भइरहेको छ । यस कार्यक्रमले स्थानीय युवाहरूमा नयाँ उत्साह भरेको र तिनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
सिर्जनशील सेवा प्रा.लि., सिर्जनशील वातावरण संरक्षण केन्द्र र ब्लु रेज ग्राफिक्स एण्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो ।