११ श्रावण २०८२, आईतवार

नेपालमा एचआईभी संक्रमितप्रति कलंक र भेदभाव कायमै, उपचार पहुँचमा समस्या

विशेषज्ञहरूले एचआईभी नियन्त्रण र उपचारका क्षेत्रमा देखिएका चुनौती र समस्याहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

0

नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्थाबारे पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य पैरवी समाज र एड्स हेल्थकेयर फाउन्डेशन नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एचआईभी रोकथाम र हेरचाहमा देखिएका चुनौतीहरू, एचआईभी/एड्ससँग बाँचिरहेका व्यक्तिहरूको रोकथाम र हेरचाहमा देखिएका नयाँ चुनौतीहरू, एचआईभी रोकथाम र हेरचाह सेवाहरूमा रहेको वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी विज्ञहरूले एचआईभी रोकथाम र उपचारका क्षेत्रमा भएको प्रगति र अझै पूरा गर्नुपर्ने कामहरूबारे प्रकाश पारेका थिए । कार्यक्रममा विशेषज्ञहरूले एचआईभी नियन्त्रण र उपचारका क्षेत्रमा देखिएका चुनौती र समस्याहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी विशेषज्ञहरूले नेपालका दुर्गम क्षेत्रहरूमा एचआईभी/एड्सबारे अझै पनि पर्याप्त जानकारीको अभाव रहेको बताएका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरूमा यस रोगका बारेमा गलत धारणा र भ्रमहरू व्याप्त भएको उनीहरुको भनाइ छ । देशका सबै जिल्लामा एचआईभी परीक्षण र उपचारका सुविधाहरू समान रूपमा पहुँच नभएको समस्या छ ।विशेषगरी पहाडी र हिमाली क्षेत्रका बिरामीहरूलाई नियमित उपचार लिन कठिनाई भइरहेको छ । एचआईभी संक्रमितहरूप्रति समाजमा अझै पनि कलंक र भेदभावको मानसिकता कायम रहेको छ ।

यसले बिरामीहरूलाई उपचार लिन डराउने र लुकाएर बस्न बाध्य पारिरहेको छ । एचआईभी कार्यक्रमको लागि आवश्यक बजेटको अभावले निरन्तर उपचार र रोकथाम कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाई भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआईभी नियन्त्रणका लागि राष्ट्रिय रणनीतिक योजना कार्यान्वयन गरिरहेको भए पनि अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । विशेषज्ञहरूले अझै व्यापक र एकीकृत दृष्टिकोणको आवश्यकता रहेको बताएका छन् ।

सामुदायिक स्तरमा जागरूकता कार्यक्रम विस्तार, उपचार सेवाको पहुँच सुधार, सामाजिक कलंक अन्त्य गर्ने अभियान, बजेट बृद्धि र प्रभावकारी उपयोग तत्कालका लागि अत्यावश्यक विषय बनेका छन् ।

विशेषज्ञहरूले एचआईभी नियन्त्रणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

उनीहरूले आगामी दिनहरूमा यस विषयमा थप ठोस नीति र कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा पत्रकारहरूले एचआईभी कार्यक्रमको बारेमा सही र तथ्यपरक जानकारी प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।